माटोको सम्झना (कविता)
मनु लोहोरुङ
बुकी फूलेका ढिस्का
र गुराँसे जंगलहरु
स्मृतिबाट कसरी टाढा हुन्छन् र...?
आधाउधी रहरका उच्छ्वांसहरु-
जिन्दगी बाच्ने बहानामा
सिमाना काटेर समुन्द्र छिचोलिंदैमा-
सिमाना नाघ्नुभित्र
अनेकमा एक
र एकमा अनेक
जीवन कथाहरु गाँसिदो छन् |
फूल्न नसकेका स्वाभिमानहरु
छातीभित्रै टाक्सिएका छन्
रै पनि सन्तानको ओठमा
मिठो मुस्कानहरु झुल्केका छन्
उही मुस्कान बचाई राख्नको खतिर
नुनिलो पसिनाको खेती पराईको भूमिमा-
सहरको ओछ्यानमा एकछिन पल्टिदैमा
कहाँ भूल्न सकिन्छ र ?
सद्धाव राखेर पिरती साट्ने फलैंचाहरु-
सेउली र ढुंगाले बारेका मायाका चिनोहरु-
जहानसंग छुट्दाको आँशु-शितलाई
आधा मुस्कान सम्झेर
विवशताको सातु खाँदै
आफ्नै जीवनको गोठालो भए पनि
कहाँ बिर्सिन सकिन्छ र ?
आफ्नो मुटु बराबरका ती पाखा-भिताहरु
हाक्पारे, पालाम गाउँदै
पसिना बगेका गैराबारीहरु-
उसो र फर्किनु छ
पर्खिने रहने बर-पिपललाई चुम्न-
मलाई हिंडाउने बाटोलाई चुम्न-
मलाई जन्माउने माटोलाई छुन |
हाल अमेरिका
No comments:
Post a Comment